सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको आठौं महाधिवेशन

माओवादीमा निर्वाचनको सम्भावना न्यून, प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।

माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा कलस्टर मिलाएर पूर्णता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महराले सकभर निर्वाचन गर्नुपर्ने अवस्था नआउने बताए ।

‘सहमतिमै नेतृत्व÷कमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने । महराकाअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदातित भइहालेमा वा औपचारिकता पूरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २ः३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३ः४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४ः१० सम्म, छानविन र निर्णय ४ः३० बजेसम्म, उम्मेदवारको नामावली पुनप्रकाशन ४ः४० सम्म, उम्मेदवारको नाम फिर्ता ५ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५ः४५ बजेसम्म तोकिएको छ । निर्वाचन हुने भएमा मतदान ६ः२५ देखि राति १०ः२५ बजेसम्म गर्ने कार्यक्रम छ ।

आकांक्षी धेरै

खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् ।

जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् । त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टाछुट्टै निर्वाचन हुनेछ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।

प्रतिनिधि सभा बैठक स्थगित

संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद् सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११ः३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १०:०८