सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

अब कर्णालीमै अन्तर्राष्ट्रियस्तरको ‘भलिबल कभर्डहल’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । भलिबल खेलका लागि कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

उनका अनुसार बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त निर्णय गरिएको हो ।

सदस्य सचिव सञ्ज्यालले कर्णालीमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने बताए । ‘राष्ट्रिय खेल भलिबलको नेपालमा आफ्नो छुट्टै कभर्डहल छैन,’ उनले भने, ‘त्यसैले यसको प्रशिक्षण र प्रतियोगितामा परेको प्रभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबलका लागि कभर्डहल बनाउने निर्णय गरेको हो ।’

दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रियस्तरको रङ्गशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने उनले बताए । सदस्य सचिव सञ्ज्यालका अनुसार एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट बनाउन थालिएको छ ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १४:२८