सुर्खेत । जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।
यसको सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी)ले सूचना जारी गरिसकेको छ । सुरुङ्गमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले टेन्डर खोलिसकेको र अध्ययन सकिएपछि सुरुङ्गमार्ग निर्माण अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।
‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो,’ उनले भने, ‘जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकैअघि बढाइनेछ ।’ जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ ।
सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘हामीले सुरुङ्गमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै सरकारसँग माग गर्दै आएका थियौं,’ उनले भने, ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’
जुम्लादेखि जाजरकोट जान करिब १० घण्टा उकालो हिँड्नु पर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिने न्यौपानेले बताए । ‘यो सुरुङ्गमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदैँ रारा जोड्ने छोटो सर्किट हुनेछ,’ उनले भने, ‘विगतदेखि गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’
– न्युज कारखाना
।