सूचनाको शक्ति - The Power Of Information

        

प्रतिकुल बन्दै मौसम

तराईमा बाक्लो हुस्सु र शीतलहर, अस्पतालमा बढे चिसोका बिरामी

बाँके । शुक्रबारबाट बाक्लो मात्रामा हुस्सु लाग्न थालेसँगै तराईका जिल्लाहरूमा चिसो झनै बढेको छ । चिसोले देशका अन्य भागमा झैँ तराईमा पनि जनजीवन नराम्ररी प्रभावित हुन थालेको छ । चिसोबाट अतिविपन्न, गरिब, मजदुर र किसान बढी प्रभावित भएका छन् ।

बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएपछि जनजीवन आक्रान्त बन्न थालेको छ । अचानक बढेको चिसोले विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न मुस्किल पर्न थालेको छ । अत्यावश्यक काम परेका मानिस मात्रै सडक, बजारमा निस्किएका छन् । चिसो छल्न ग्रामीण भेगका सर्वसाधारणले चोक–चोकमा आगो बाले र तापिरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–६ का स्थानीय विजय शाहले चिसो बढ्दै गए पनि स्थानीय पालिका र अन्य निकायले न्यानो प्रदान गर्न दाउरासमेत वितरण नगरेको गुनासो गरेका छन् । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले यस वर्ष अहिलेसम्म कुनै पनि पालिकाले वन कार्यालयमा दाउराका लागि माग नगरेका बताए ।

शीतलहर सुरु भएसँगै विपन्न समुदाय परालको आगो (घुर) तापेर शीतलहर छलिरहेका छन् । न्यायो लुगाको अभावले दैनिक मजदुरी गरेर गुजारा गर्ने ती परिवारहरू कष्ट खेप्न बाध्य छन् । नेपालगन्ज–१८ का नन्कु यादवले भने, ‘शीतलहर सुरु भएको छ । प्रत्ये क वर्ष आँउछ । यसले हामी जस्ता गरिब र विपन्न बस्तीका मानिसलाई सताउँछ ।’

उनले बाक्लो लुगा नहुँदा निर्माण तथा कृषि कार्यका लागि बाहिर जान नसक्दा छाक टार्नै मुस्किल भएको बताए । ‘काम नगरे बालबच्चा के खाने, ठूलो विपत्ति आउँछ शीतलहरमा,’ यादवले भने, ‘परालको आगो बाले र शीतलहर छल्छौँ, तर आगो एक मिनेट पनि टिक्दैन । शीतलहर गुज्रिसकेपछि दाउरा बाँडेर के काम ?’

तराई क्षेत्रमा पुस र माघ महिनामा हुने चिसोले कठ्याङ्ग्रएर मानिसको मृत्यु हुने गरेको छ । चिकित्सकले चिसोजन्य सङ्क्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहले यस्तै किसिमको चिसो अझ बढ्दै गए चिसोजन्य सङ्क्रमणका बिरामी बढ्न सक्ने बताए ।

अहिले पनि जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो, कोल्ड डायरिया तथा ब्रोङकाइटिस जस्ता सङ्क्रमणका बिरामी उपचारका लागि आउन थालेको चिकित्सकले बताएका छन् । चिसोका कारण स्थानीय अस्पतालहरूमा दैनिक सयौँको सङ्ख्यामा मौसमी फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

बाँकेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार चिसोका कारण फ्लुबाट दैनिक १०० देखि १५० जनाभन्दा बढी सङ्क्रमित भएर आउने गरेको तथा बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका बिरामी रहेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ ।

चिसोका कारण वृद्ध–वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी बढिरहेको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा.एम किदवाइले बताए । भेरी अस्पतालमा मात्रै छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर दैनिक १०० बढी बिरामी आउने गरेका छन् ।

अस्पतालका अनुसार अस्पतालमा आउने धेरै बिरामी घाँटी खसखसाउने, सास फेर्न गाह्रो हुने तथा अन्य छाती सम्बन्धी समस्या लिएर आउने गरेको अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डेले बताए । अन्य मौसममा सरुवा रोगका बिरामी बढी आउने गरेकोमा हाल मौसमी भाइरलजन्य रोगका बिरामी बढी आउने गरेको उनले जानकारी दिए ।

ग्रामीण भेगबाट आएका बिरामीहरू लामो समयसम्म आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धालाई चिसोको कारण झन् समस्या देखिएको उनले बताए । बढ्दो प्रदूषण र धुवाँ चिसो मौसममा हावा थप प्रदूषित हुने भएकाले यो मौसममा श्वास–प्रश्वासका बिरामीहरु बढेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले न्यानो लुगा लगाउन, बाहिर हिँड्दा भरपर्दो माक्र्सको प्रयोग गर्ने, पौष्टिक खानेकुरा खाने र न्यानो वातावरणमा बस्न अस्पतालका चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरुका झोलिलो खानेकुरा, गेडागुडीको रस, माछामासुको रस, सागपात बढी खाने, फ्रिजका खानेकुरा नखाने, न्यानो लुगा लगाउने, तातो ठाउँमा बस्नु पर्छ ।

शिक्षण अस्पतालकै फिजिसियन डा.अल्तवान राहीका अनुसार चिसोबाट जोगिनका लागि घरबाहिर निस्किँदा बाक्लो र न्यानो लुगा लगाउनुका साथै मास्क लगाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्ने, छाती दुख्ने तथा सास फेर्न गाह्रो हुने समस्या बढ्दै गए वा घ्यारघ्यार हुँदै गएमा सकेसम्म चाँडो चिकित्सकसमक्ष पुग्नुपर्छ ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १०:२८