सूचनाको शक्ति - The Power Of Information

        

माइती नेपाल

नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्धार

४३२ जनालाई पारिवारिक पुनर्मिलन

बाँके ।  नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्धार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्जमा बिहीवार पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् ।

कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए ।

बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार २०:३२