सूचनाको शक्ति - The Power Of Information

        

अपराध

नक्कली नागरिकता बनाउने एक जना पक्राउ, पाँच जनामाथि अनुसन्धान

बझाङ । बझाङमा नक्कली नागरिकता र सर्टिफिकेट बनाएको भन्दै एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका १ का सतेशबहादुर सिंह छन् । सिंहको नागरिकता र सर्टिफिकेटमा एउटामा सतेशबहादुर सिंह र अर्काेमा प्रकाशबहादुर सिंह नाम राखेर फरक फरक जन्म मिति राखेर नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ ।

सिंहले २०७० साल १२ महिना ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह जन्म मिति २०५३ साल ५ महिना ८ गते लेखिएको र २०७८ साल ७ महिना ११ गते बनाएको दोस्रो नागरिकतामा २०५६ साल ५ महिना ८ गतेको जन्म मिति लेखेर प्रकाशबहादुर सिंह लेखेर दुई वटा नागरिकता बनाएको पाइएको छ ।

सिंह २०७८ साल पुस १ गते जिल्ला प्रहरी कार्यालय बझाङमा प्रहरी जवानका लागि दखास्त दिन आएका जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दरखास्त दिन आएका सिंहको नागरिकता र सर्टिफिकेटमा नाम र जन्म मिति फरक परेपछि कृर्तेको आशंका गरी अनुसन्धान गर्दा नागरिकता र सर्टिफिकेट नक्कली भेटाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

सिंहलाई जवानमा दरखास्त दिने दिन सर्टिफिेकेट नमिलेको भन्दै फर्काउने कोसिस गरे पनि सिंहले उल्टै प्रहरी कर्मचारीहरुलाई मैले २, ३ पटक दिइसके तपाईले मिलेन भनेर हुन्छ भनेर जवरजवस्ती गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । अनुसन्धानका क्रममा विद्यालयमा गएर बुझ्दा नागरिकता दुई वटा बनाएको र सर्टिफिकेट विद्यालयबाट दिएको खुलेको छ ।

अनुसन्धानपछि उनी अध्यनरत विध्यालय नारायण मावि पिमी कैलाशका प्रधानाध्यापक ऐनबहादुर सिंह र सर्टिफिकेट कृर्तेको अनुसन्धानका लागी प्रतिभा डिजिटल फोटो स्टुडियोका सञ्चालन शिवराज शर्मालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको समेत प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुई वटा नागरिकता बनाएको तथा नागरिकता कृर्तेमा जयपृथ्वी नगरपालिका १ कैलाशका वडाध्यक्ष गगनबहादुर सिंह, वडा सचिव करनबहादुर कामी, सहायक चौथो अजयबहादुर सिंहलाई पनि नागरिकता बनाउनका लागि वडा कार्यालयबाट सिफारिस दिएका कारण अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

अहिले सतेशविरुद्ध कृर्ते दुई मुद्धा चलाइएको र उनीसँगै विद्यालयका प्रधानाध्यापक र फोटो स्टुडियोका सञ्चालकलाई सर्टिफिकेट कृर्ते गरेको आधारमा अनुसन्धानम तानिएका हुन् भने वडाध्यक्ष लगायतका वडाका कर्मचारीमाथि नागरिकताको विषयमा अनुसन्धान लागि थुनामा राखिएको हो । एक नागरिकता सिंहले २०७० सालमा बनाएका छन् भने अर्को नागकिता २०७८ सालमा बनाएका हुन् ।

सिंहको दोस्रो नागरिता २०७८ सालमा बनाउँदा आफु प्रमुख जिल्ला अधिकारी रहेको र आफु बाहिर हुँदा नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले हस्ताक्षर गरेकोको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनले भने, ‘नागरिकता बनाउन आउदा जन्म दर्ताबाहेक अरु ल्याएको थिएन् । जन्मदर्तामा नाम र जन्म मितिको आधारमा हामीले नागरिकता दियौं । नागरिकता बनिसकेपछि कक्षा ८ को सर्टिफिकेट बनाएको रहेछ ।’

२०७० सालमा बनाएको नागरिकताको जिल्ला प्रशासनमा ढड्डा हेर्न सकिँदैन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारीले एकै बाबुका २, ३ छोरा पनि त हुन सक्छन् भनेर टारेका छन् । नागरिकता बनाउन सिफारिस दिने र सर्टिफिकेट दिएको आधारमा वडाका र विद्यालयका कर्मचारीमाथि अनुसन्धान भए पनि प्रहरीले नागरिकता बनाउँदा सनाखत गर्ने व्यक्तिहरुको भने सोधिखोजी गरेको छैन ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १०:१४