सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जमा आइसीपी निर्माण सुस्त, १६ वर्षमा २० प्रतिशत काम

बाँके । नेपालगन्ज नाकामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को निर्माण कार्य १६ वर्षमा २० प्रतिशत मात्र भएको छ ।

सन् २००५ मा नेपाल भारत सरकारबीच एकैपटक विराटनगर, वीरगञ्ज, नेपालगन्ज र भैरहवा नाकामा आइसीपी निर्माणको सम्झौता गरिएको थियो । तर, विराटनगर र वीरगञ्जमा निर्माण पूरा भइसकेको छ भने नेपालगन्जको आइसीपी निर्माणमा ढिलाइ भएको छ ।

नेपाल भारत सीमा नजिकै नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरमा आइसीपी निर्माणको काम भइरहेको हो । गत वर्ष दुई वर्षमा पूरा गर्ने गरी भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले एक अर्ब ४७ करोड भारतीय रुपियाँमा निर्माण ठेक्का लिएको थियो ।

ठेक्का अवधिको आधा समय बितिसक्दा पनि २० प्रतिशत मात्रै काम हुनुले उद्योगी व्यवसायीमा चिन्ता बढेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । १६ वर्षअघि भएको सम्झौताको कार्यान्वयन गत वर्षदेखि मात्रै सुरु भएको थियो ।

अध्यक्ष मन्सुरीले आइसीपीको निर्माणसँग बाँकेका मात्र नभई समग्र पश्चिम नेपालका उद्योगी व्यवसायीको भविष्य र आशा गाँसिएको जनाउँदै पटकपटक दबाब दिए पनि कामले गति लिन नसकेको गुनासो गरे । त्यसयता पनि विभिन्न बहानामा काम सुस्त भएको छ ।

ठेकेदार कम्पनी राजदीप कन्स्ट्रक्सनका इन्जिनियर नितिन कुमारले अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोना महामारी र विभिन्न चाडपर्वले गर्दा काम पटकपटक रोकिए पनि दुई महिनायता तीव्र गतिमा भइरहेको जानकारी दिए ।

उनका अनुसार निर्माण स्थलमा अहिले भवन लगायतका पूर्वाधार तयार भइरहेका छन् । उक्त स्थानमा २२०० मिटर लम्बाइ र ६० मिटर चौडाइमा आईसीपीको एप्रोच रोड निर्माण भइरहेको छ ।

आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा ठेकेदार कम्पनीलाई कुनै राजस्व र भन्सार महसुल नलाग्ने दुई देशबीचको सहमतिअनुसार सामान ल्याउने काम निरन्तर भइरहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

सो कार्यालयका इन्जिनियर होमनाथ भुसालले ठेकेदार कम्पनीलाई आवश्यक पर्ने स्थानीय स्तरको निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवामा आफूहरूले सहजीकरण गरिरहेको बताए ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ११:५७