सूचनाको शक्ति - The Power Of Information

        

वर्षा र हिमपातले कतै हर्ष, कतै कष्ट

केही दिनअघि रोल्पामा हिमपात भएको दृश्य । तस्वीर रासस

काठमाडौं । हिमपात र वर्षाले देशका धेरै ठाउँको जनजीवन कष्टकर बनाएको छ ।

हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लासँगै तराईका जिल्लाको जनजीवन कष्टकर बनेकाे छ ।

चिसो बढ्दा घर बाहिर हिँडडुल गर्न समेत कठिन भएको छ । गएको ११ गतेदेखि परेको हिमपातका कारण मनाङका माथिल्लो क्षेत्रका स्थानीय बासिन्दा जिल्लाबाट बाहिरिएका छन् ।

मनाङको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । हिमपातले हिँडडुल गर्न समेत कठिन भएको छ ।

गाडीको आवगमनसमेत ठप्प भएको छ । मनाङको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको त्यहाँका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार पर्यटकलगायत नागरिकलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिएको छ । यस्तै, हिमपातका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ ।

म्याग्दी र मुस्ताङमा हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । यस्तै, हिमपात पछि बझाङमा टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ ।

सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको हो ।

हिमपात र वर्षाले जनजीवन कष्ठकर बनाइ रहे पनि देशका कतिपय ठाउँमा हिउँमा रमाउनेहरु बढेका छन् । काडमाण्डौसहित आसपासका हिउँ परेका क्षेत्रमा हिउँ खेल्न जानेको भीड बढेको छ ।

काठमाण्डौको चन्द्रागिरिमा हिजो बिहानदेखि नै हिउँ खेल्नेहरु पुगेका छन् । यस्तै, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा र मकवानपुर जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

हिउँ पर्न थालेसँगै यो क्षेत्रमा हिउँमा रमाउन जानेहरु बढेका छन् । यसले  हिउँ परेका क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् ।

हिजो बेलुका चन्द्रागिरि जाने र फर्किनेको भीडका कारण कलङ्की थानकोट सडक खण्डमा गाडीको चाप समेत बढेको थियो ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ०८:१४