सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’का कार्यकर्ताले सीमा पुलमा लगाए ताला

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमा पुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ बजे पुलको गेटमा ताला लगाएका हुन् ।

नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएको पुष्टि गरे । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमा पुलमा ताला लगाइएको उनले बताए ।

एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोप कार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ ।

लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए । प्रहरीले भने सीमा पुलमा तालाबन्दी नभएको दाबी गरेको छ ।

सीमा पुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताए ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १०:२५