सूचनाको शक्ति - The Power Of Information

        

हिमपातले बझाङमा सञ्चारमाध्यम र टेलिफोन सेवा अवरुद्ध

बझाङ । हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिकरुपमा प्रभावित भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिकरुपमा प्रभावित भएको छ ।

शनिबारदेखि नै बेलाबेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङ्गल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताए । घाम नलाग्दा पहाडी जिल्लाका एफ.एम.रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ ।

रिले स्टेशनमा बिद्युत सेवा नहुदा सौर्य उर्जाका भरमा प्रसारण भइरहेका एफ.एमहरुको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ । तीन दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुदा सेवा प्रभावित भयको जयपृथ्वी एफ.एम. बझाङका अध्यक्ष प्रताप ओलीले बताए ।

उनले भने, ‘तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुन सकेको छैन । रिले स्टेशनमै भारी हिमपात भएको छ । सौर्य उर्जाबाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ ।’ दैनिक १८ घण्टा प्रसारण हुने गरेकोमा अहिले विहान ५ घण्टा र साँझ ५ घण्टा मात्र प्रसारण भइरहेको उनको भनाई छ ।

यातायात सेवा प्रभावित

सुदूरपश्चिममा हिमपातका कारण पहाडि जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाँउ संगको यातायात सम्बन्ध टुटेको छ । बझाङको जयपृथ्वी राजमार्ग अवरुद्घ भएको छ । बझाङ भित्रिने तथा बझाङबाट मंगलबार छुटेका यातायातका साधनहरु विचबाटोमा रोकिएका छन् ।

डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाउँहरुमा बाक्लो हिमपात भएका कारण पहाडि जिल्ला भित्रने बाहिरिने सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगडी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुटेका रात्रीकालिन सेवाका बसहरु बाटोमै रोकिएका छन् । बैतडीको खोड्पे, डडेल्धुराको अनारखोली र अन्य ठाँउमा भएको हिमपातले बझाङ, बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १०:०८