काडमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने देशका धेरैजसो स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
महाशाखाले आज (बुधबार) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यसैका कारण देशभर मौसम बदली तथा वर्षा र हिमपात भइरहेको हो । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ, देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
।