सूचनाको शक्ति - The Power Of Information

        

समाचार

स्वदेशी कपास उत्पादन र बजार विस्तार गर्ने सहमति

बाँके । बाँकेको खजुरास्थित कपास विकास समिति र उद्योगी व्यवसायीबीच स्वदेशी कपास प्रयोग गर्नेबारे सहमति भएको छ । सोमबार नेपालगन्जमा आयोजित ‘कपास खेती तथा उद्योगका साझा चुनौती एवं सम्भावना’ विषयक अन्तक्र्रियामा कपास विकास समिति खजुरा र नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासङ्घबीच सो सहमति बनेको हो ।

समितिले उत्पादन गरेको कपासको बिक्री घट्दै गएको तथा कपास सम्बन्धी उद्योगी व्यवसायीले भारतबाट कपास आयात गरेर व्यवसाय गर्दै आएकामा अबदेखि स्वदेशी उत्पादनकै कपास प्रयोग गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने सहमति बनेको कपास विकास समिति खजुराका कार्यकारी निर्देशक बुद्ध थापाले जानकारी दिए ।

देशमा कपास खपत गर्ने ठूला उद्योग बन्द भएपछि कपास बिक्रीमा समस्या आउन थालेपछि उत्पादन पनि घटेको छ । यो अवस्थामा स्वदेशी उत्पादन प्रयोग बढाउन व्यवसायीसँग छलफल गरिएको थापाले बताए । पहिलो चरणमा भएको छलफलमा व्यवसायी कपास खरिद गर्न सहमत भएको जनाउँदै कार्यकारी निर्देशक थापाले अब अर्को चरणमा त्यसको ठोस खाका प्रस्तुत गरेर सम्झौता गरिने बताए ।

अन्तक्र्रियामा सहभागी नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासङ्घका अध्यक्ष चन्दना कोइरालाले महासङ्घमा आबद्ध ६०० भन्दा बढी सिरक डसना निर्माण गर्ने उद्योगले वार्षिक १० अर्ब रुपैयाँजतिको कारोबार गरिरहेको बताइन् । उनले महासङ्घमा आबद्ध सबै उद्योगी व्यवसायीले भारतबाट आयात गरिएको कपास मात्रै प्रयोग गर्नुपरेको बताइन् ।

उनले अबदेखि नेपालमै उत्पादित कपास प्रयोग गर्ने सहमति बन्नु देशको आर्थिक विकासका लागि महत्वपूर्ण भएको बताइन् । महासङ्घका महासचिव घनश्याम पौडेलले सहज वातावरण बनेमा स्वदेशी कपासले सजिलै बजार पाउनुका साथै खेती पनि विस्तार हुने बताए । अन्तक्र्रियामा सहभागी भएका चितवन, गोरखा, कास्की, रुपन्देही लगायतका कपास व्यवसायीले स्वदेशी उत्पादन र बजार दुवै बढाउने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा कपास विकास समिति खजुराका कपास विकास अधिकृत विजय जोशीले कपास खेतीको इतिहास र समितिको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे जानकारी गराएका थिए । दुई दशकअघि बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका आठ हजार किसानले गरिरहेको कपास खेती साँघुरिँदै जाँदा यो वर्ष १९० जना किसानले मात्र कपास खेती गरेका छन् ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १०:१८