सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा कि सास्ती ?

कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, बढ्यो सुरक्षा चुनौती

३५० जना क्षमताको कारागारमा ८१४ जना कैदीबन्दी

बाँके । जीर्ण अवस्थामा रहेको नेपालगन्ज कारागारमा क्षमताभन्दा झण्डै तेब्बरभन्दा बढी कैदीबन्दीलाई राखिएको छ । कारागार कार्यालय नेपालगन्जका प्रमुख रामकुमार सोनकरका अनुसार कोरोना महामारीपछि महिला कैदीबन्दीलाई राख्ने ठाउँलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो ।

जम्मा ३५० जना कैदीबन्दी क्षमताको उक्त कारागारमा अहिले त्यहाँ ८१४ जनालाई कोचाकोच गरेर राखिएको छ । कारागारमा ३०० पुरुष र ५० जना महिला राख्ने गरी बनाइएको छ । अहिले सबै पुरुष मात्र राखिएको हो । अहिले पनि महिला कैदीबन्दी आए एक/दुई दिन राखेर अन्यत्र जिल्ला पठाउने गरिएको प्रमुख सोनकरले बताए ।

प्रमुख सोनकरका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । नेपालगन्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् ।

‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो,’ प्रमुख सोनकरको भनाई छ । कैदीबन्दीको आचरण सुधारका लागि वि.सं.२००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १३:२१