सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बाँकेमा काठ तस्करी बढ्यो, चार महिनामै १३ मुद्दा दर्ता

बाँके । बाँके जिल्लामा पछिल्लो समय वन फँडानी र काठ तस्करीका घटना बढ्दै गएका छन् ।

चालू आर्थिक वर्ष २०७८/०७९ को चार महिनाको अवधिमा मात्रै अवैध काठ र वन्यजन्तुका अङ्ग ओसारपसारका १३ वटा मुद्दा डिभिजन वन कार्यालय बाँकेमार्फत दर्ता गरिएका छन् ।

चार महिनामै १३ वटा मुद्दा दर्ता हुनुले अवैधरूपमा काठ कटानी र तस्करी निकै बढेको पुष्टि भएको छ । डिभिजन वन कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षमा पनि १३ र आर्थिक वर्ष २०७६/०७७ मा पनि २१ वटा काठ तस्करीका मुद्दा दर्ता भएका थिए ।

उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म मात्रै दर्ता भएका १३ वटा मुद्दा अवैध साल काठ ओसारपसार, वन्यजन्तुका अङ्ग ओसारपसार सम्बन्धी छन् ।

वनले काठ काट्न प्रयोग भएका हतियार, ओसारपसारमा संलग्न साधन र मानिस तथा वन्यजन्तुका अङ्गसमेत नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले बताए ।

उनले चालू आर्थिक वर्षमा आठवटा अवैध काठ ओसारपसार र अन्य पाँच मुद्दा वन्यजन्तुको अङ्ग ओसारपसारका रहेको जनाए ।

प्रहरीले फेला पार्ने अवैध काठलाई डिभिजन वन कार्यालयमा बुझाउने गरेको र वन्यजन्तुको अवैध ओसारपसारको घटनामा बाँके राष्ट्रिय निकुञ्जमा थप अनुसन्धान, कारबाही र मुद्दाका लागि पठाउने गरिएको छ ।

ठूला मुद्दाको अनुसन्धान भने जिल्ला प्रशासन कार्यालय बाँकेबाट तोकिने गरेको पनि डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १२:५२