सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा फेरि हिमपात

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा हिजाे साँझदेखि मौसममा फेरबदल आएसँगै हिमपात भएको छ ।

हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेल्सियस भन्दा तल पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिनुभयो ।

‘हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ डिग्री सेल्सियस भन्दा तल पुगेकाे छ ।’ उहाँले भन्नुभयो, ‘हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।’

गएकाे मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १०:५८