सूचनाको शक्ति - The Power Of Information

        

उच्च शिक्षामा आकर्षण बढाउन छात्रालाई साइकल

बाँके । छात्रालाई उच्च शिक्षामा आकर्षण बढाउन राप्तीसोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको हो ।

गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताए ।

‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिँदै गर्दा साइकलको पनि हामीले महसुस् गरिम, बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ उनले भने, ‘शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागि राप्तीसोनारी गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो ।’

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उनले बताए । ‘सुरुमा ७५० साइकल खरिद गर्ने योजना हामीले बनायौं, हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेपछि संख्या बढेर झण्डै १२ सय पुग्दैछ,’ अध्यक्ष थारुले भने ।

साइकल पाउने भएपछि ड्रपआउट भएका छात्रा पुनः विद्यालयमा फर्किने र टाढाबाट विद्यालय आवतजावत गर्ने अपेक्षा लिइएको उनी बताउँछन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्याइएको छ ।

‘पहिलो चरणमा ७५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले भने । गाउँपालिकाले आइतबार पहिलो दिन मात्र नेरा माध्यामिक विद्यालय अगैया र सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरमा अध्ययनरत १९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ ।

छात्रालाई विद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्वद्ध बताइएको छ । ‘विद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अगैयाका शिक्षक विकास शर्माले भने, ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ, भने साइकल पाउने आशाले पनि पढाईमा छात्राको आकर्षण बढ्छ ।’

आफ्नो बिद्यालयका ३२ जना छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेको शिक्षक शर्माले सुनाए । सरस्वती माध्यामिक बिद्यालय भवानीपुरका छात्रा सुस्मिता चौधरीले साइकल पाएपछि अब विद्यालय आउन–जान धेरै सहज हुने बताइन् । ‘गाउँपालिकाबाट साइकल पाउँदा एकदमै खुसी लागेको छ, विद्यालय जानका लागि अब हामीलाई धेरै सजिलो हुने भयो,’ उनले भनिन् ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार ०९:४९