सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको महाधिवेशन

माओवादी र एमालेबीचको एकता गलत थिएन : शंकर पोखरेल

एकता भङ्ग हुनु दुःखद

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताउनुभयो । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ ।

उहाँले पछिल्ला तीन–तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्ने बताउनुभयो ।

अहिले देश हिँड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिँडेको भन्दै महासचिव शंकर पोखरेलले सबै दल र नेताले एक पटक गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ११ पुष २०७८, आइतवार १७:४३