सूचनाको शक्ति - The Power Of Information

        

भारत भ्रमणको तयारीमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ ।

पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले शनिबार राति भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।”

कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आइतवार ०८:५५