सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

काठमाडौं । राष्ट्रिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ । आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार बेलुकीसम्म सातवटा दलमात्रै दर्ता भएको जानकारी दिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराइसकेका छन् ।

निर्वाचन आयोगमा १०३ दल दर्ता रहेका छन् । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अझै दल दर्ता गरेका छैनन् । उनीहरुले आज दल दर्ताको निवेदन बुझाउने तयारी गरेका छन् । आज शनिबार र क्रिसमसको सार्वजनिक बिदा भए पनि निर्वाचन आयोगको काम कारबाही जारी रहने प्रवक्ता पौडेलले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गतेका लागि तोकिएको छ । यो निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०९:१०