सूचनाको शक्ति - The Power Of Information

        

देशका विभिन्न ठाउँमा हिमपात : जनजीवन प्रभावित

काठमाडौं । देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको  ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा  हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ ।

पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । केही स्कुल पनि  बन्द गरिएको छ । यस्तै दोलखाको कालीञ्चोक लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ ।

जनजीवन केही प्रभावित भएको तर पर्यटकको सङ्ख्या बढ्ने भएकाले व्यवसायी उत्साहित छन्। कालीञ्चोकमा मन्दिर दर्शन तथा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ ।

खुम्बुक्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले जनजीवन कष्टकर बनेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने किसानको भनाइ छ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार ०९:०५