सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ र एनआटीले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेका हुन् । रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी बराबरीमा रोकियो ।

खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काए ।

४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए भने ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो ।

तर, ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याउँदा ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउदै एपीएफलाई हारबाट जोगाए ।

बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एपीएफ ११औं स्थानमा रहेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी अंक तलिकाको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:४४