काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ ।
माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष दाहालले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको जिकिर गर्नुभयो ।
एमालेले धाक दिदैँ हिडेको भन्दै उहाँले आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने चेतावनी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्नु भएको छ ।
उहाँले प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभयो । राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।
उहाँले नेकपा एमालेतर्फ संकेत गर्दै अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गर्नुभयो ।अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताउनुभयो ।
माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको हो ।
नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।
।