सूचनाको शक्ति - The Power Of Information

        

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ ।

आज शुक्रवार बिहान आइपुगेको खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताउनुभयो ।

सरकारले आउँदाे १३ गतेदेखि काठमाण्डौ उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डाेज गएकाे कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो ।

सरकारले प्रदेश नम्बर १ काे झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, वाग्मती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशाेरकिशाेरीलाई फाइजर खाेप दिने जनाएकाे छ ।

यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशकाे रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:३२