सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाको दशौं गाउँसभा : एकै पटक सात वटा विधेयक पारित

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले दशौं बिहीबार दशौं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले एकै पटक सात वटा विधेयक पारित गरेको छ । गाउँसभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका एकै पटक सात वटा विधेयक सर्वसम्मत रुपमा पारित गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए ।

गाउँसभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउपािलको तथ्याक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिवेदन र संशोधित बजेट प्रस्तुत गरेका थिए । गाउँसभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८–०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरि गरिएको बजेट संशोधन पारित गरिएको थियो ।

डुडुवा गाउँपालिका अहिले जिल्लास्तरमै नमूनाको रुपमा काम गर्न सफल भएको पालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी अंक ल्याएर जिल्लामै पहिलो, विभिन्न नीति निर्णय र प्रक्रियामा गरिएको काम अन्तरगत स्वमूल्यांकनमा पनि जिल्लामा पहिलो, घर घरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सबैभन्दा कम बेरुजु डुडुवामा रहेको पाइएको छ ।

गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएका छन् । गाउँपालिकाले जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी रुपमा देखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सदस्य सचिव परशुराम उपाध्यायले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १०:५३