सूचनाको शक्ति - The Power Of Information

        

खाद्य असुरक्षामा परेका मष्टाका ३ वडामा ५सय परिवारलाई राहात वितरण गरियो

बझाङ ।  बझाङको मष्टा गाउँपालिकाका तिन ओटा वडाका ५ सय परिवारलाई राहात वितरण गरेको छ ।

जिल्लामा संचालित गैरसरकारी संस्था एकिकृत विकास मञ्च बझाङ र यु.एम.एन.कलस्टरको साझेदारीमा संचालित खाद्य सुरक्षा जलवायु परिवर्तन द्धन्द संवेदनशिलता र लैङ्गिक समानताको मुल प्रवाहिकरण मार्फत उत्थानशिल निर्माण परियोजना अन्र्तरगत मष्टाका तिन वडामा राहात वितरण गरिएको हो ।

गाउँपालिकाको वडानम्बर २, ३ र ४ मा कोभिड तथा बर्षातको कारण खाद्य असुरक्षामा परेका घरधुरीलाई राहात वितरण गरिएको छ ।
जसमा वडानम्बर २ मा १८३, वडानम्बर ३ मा १६५ वडानम्बर ४ मा १४२ गरी तिन वडाका ५ सय परिवारलाई गाउँमै गएर खाद्यान्न राहात वितरण गरिएको छ ।

राहातमा प्रति परिवार ३० किलो चामल,१ लिटर तेल, २ किलो दाल, १ किलो चिनी, २०० ग्राम सोयाविन, ३ वटा नुहाउने र ३ वटा लुगा धुने साबुन गरि प्रति परिवार २ हजार २ सय बराबरको राहात सामाग्री वितरण गरेको एकिकृत विकास समाज बझाङका कार्यक्रम संयोजक भरत अधिकारीले बताउनुभयो ।

वडानम्बर २ का मान बहादुर रोकायाले भन्नुभयो, ‘असोज ३१ गते देखी कार्तिक ३ गते सम्म परेको अविरल बर्षा संगै आएको बाढीपहिरोले आफ्नो अन्नबाली लगाउने खेतबारी बगाएर लगेपछी आफ्नो तरकारी तथा अन्नबाली लगाउनका लागी खेत नभएकाले भोकमरीको चिन्ता लागेको थियो । संस्थाले ढिलै भए पनि सम्झेर राहात दियो । निकै खुसी लागेको छ । घर पनि बाढी पहिरोले जोखिममा परेको छ ।’

घरमा कमाउने मान्छे नभएकाले भोकमरीको चिन्ता संगै विहान बेलुका केखाने भन्ने भएकाले आफुले राहात पाउँदा खुसी लागेको स्थानिय मनोकला धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमाइ खाने जग्गा सबै बगायो । म काम गर्न सक्दैन् । बुढी मान्छे भनेर मलाई राहात मिलाई दियो । यो संस्थाको जय होस ।’

आफुहरुले स्थानियतहसंग समन्वय गरेर न्यायोचित ढंगले राहात वितरण गरेको र खाद्य असुरक्षामा परेका परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको यु.एम.एन. कलस्टर बझाङका प्रमुख रामशरण श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो राहात सामाग्री केहि दिन अगाडीनै वितरण गरिसक्नु पर्ने भए पनि बर्षा र सडक अवरुद्वका कारण ढिला भएको हो ।’ यु.एम.एन.को आर्थीक सहयोग, एकिकृत बिकास मञ्चको आयोजना र मष्टा गाउपालीकाको समन्वयमा उक्त वडाहरुमा संस्थाले राहात वितरण गरेको छ । संस्थाले मष्टा गाउँपालिकाका सोहि वडाहरुमा व्यवसाय तथा पशुपालन गर्ने उधमीहरुलाई कुखुरा, बाख्रा र किराना पसलहरु पनि राखिदिएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १०:१५