सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

एक अर्ब २५ करोड रुपैयाँको लगानीमा गनापुरमा बिलेट उद्योग

बाँके । अम्बे समूहले एक अर्ब २५ करोड रुपैयाँको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउने भएको छ । आउँदो दुई महिनाभित्र बाँकेको जानकी गाउँपालिकाको गनापुरमा सो उद्योग सञ्चालन गर्ने गरी तयारी भएको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले जानकारी दिए ।

सो समूहले दुई वर्षअघि तीन अर्ब रुैपयाँको लगानीमा गनापुरमै जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो । १६ बिघामा फैलिएको जयअम्बे स्टिल उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जानकारी दिँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताए

दैनिक ७५० टन बिलेट उत्पादन हुने सो उद्योगले जनाएको छ । उद्योगभित्र २५ टनका तीनवटा युनिट हुनेछन् । सुरुमा उत्पादन भएको बिलेट आफ्नै उद्योगमा प्रयोग गरिनेछ । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनको भन्सार शून्यमा झार्दै बिलेट आयातको अन्तःशुल्क बढाएको थियो ।

यो सरकारी नीतिपछि उद्योगबाट उत्पादित बिलेट बिक्रीसमेत गर्ने उनले जानकारी दिए । हाल सञ्चालनमा रहेको अम्बे समूहको छड उद्योगले आठ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गरिरहेको छ । उद्योगका अनुसार ४० एमएमको छड जलविद्युत् आयोजना जस्ता ठूला पूर्वाधार निर्माणको काममा प्रयोग हुन्छन् ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजारलाई लक्षित गरेर बाँकेमा सो छड उद्योग सञ्चालनमा ल्याइएको हो । अम्बे समूहको यो दोस्रो छड उद्योग हो । भैरहवाबाट यसअघि नै अम्बे ब्रान्डका छडहरू उत्पादन भएर बिक्री हुँदै आएको पनि उद्योगले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०८:३०