बाँके । केही दिनदेखि तराईमा चिसो बढेको छ । चिसोका कारण बाँकेका अस्पतालहरुमा चिसोका बिरामी बढेका छन् । चिसोले यहाँको जनजीवनलाई क्रमशः प्रभावित बनाउँदै गएको छ । चिसोका कारण स्थानीय अस्पतालहरूमा दैनिक सयौँको सङ्ख्यामा मौसमी फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने लगायतका रोग देखिएको बाँकेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकले जनाएका छन् । चिसोका कारण फ्लुबाट सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको बाँकेका अस्पतालहरूले जनाएका छन् ।
दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका बिरामी रहेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिसिन विभागले जनाएको छ । नगरका विभिन्न अस्पतालमा दैनिक १०० देखि १५० जनाभन्दा बढी रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो तथा ब्रोङकाइटिसको समस्या लिएर आउने बिरामी बढ्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
चिसोका कारण वृद्ध–वृद्धा बढी प्रभावित भएका छन् । श्वास–प्रश्वासका बिरामीहरुले भने रोग जटिल बनेपछि अस्पतालमा उपचार गर्ने गरेको चिकित्सकले जनााएका छन् । चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी मात्र बढिरहेको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा.एम किदवाइले बताए ।
चिसोका कारण युवा तथा वृद्धहरू रुघाखोकी ज्वरो तथा दमबाट सङ्क्रमित भएर उपचारका लागि बढी आइरहेको जनाउँदै उनले बालबालिकामा ‘कोल्ड डायरिया’का समस्या भएका धेरै रहेको बताए । चिसो बढेसँगै भेरी अस्पतालमा पनि छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या दैनिक १०० जति नाघ्ने गरेको छ ।
अस्पतालका अनुसार अस्पतालमा आउने धेरै बिरामी घाँटी खसखसाउने, सास फेर्न गाह्रो हुने तथा अन्य छाती सम्बन्धी समस्या लिएर आउने गरेको अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डेले बताए । अन्य मौसममा सरुवा रोगका बिरामी बढी आउने गरेकोमा हाल मौसमी भाइरलजन्य रोगका बिरामी बढी आउने गरेको उनले जानकारी दिए ।
ग्रामीण भेगबाट आएका बिरामीहरू लामो समयसम्म आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धालाई चिसोको कारण झन् समस्या देखिएको उनले बताए । बढ्दो प्रदूषण र धुवाँ चिसो मौसममा हावा थप प्रदूषित हुने भएकाले यो मौसममा श्वास–प्रश्वासका बिरामीहरु बढेको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुले न्यानो लुगा लगाउन, बाहिर हिँड्दा भरपर्दो माक्र्सको प्रयोग गर्ने, पौष्टिक खानेकुरा खाने र न्यानो वातावरणमा बस्न अस्पतालका चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरुका झोलिलो खानेकुरा, गेडागुडीको रस, माछामासुको रस, सागपात बढी खाने, फ्रिजका खानेकुरा नखाने, न्यानो लुगा लगाउने, तातो ठाउँमा बस्नु पर्छ ।
शिक्षण अस्पतालकै फिजिसियन डा.अल्तवान राहीका अनुसार चिसोबाट जोगिनका लागि घरबाहिर निस्किँदा बाक्लो र न्यानो लुगा लगाउनुका साथै मास्क लगाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्ने, छाती दुख्ने तथा सास फेर्न गाह्रो हुने समस्या बढ्दै गए वा घ्यारघ्यार हुँदै गएमा सकेसम्म चाँडो चिकित्सकसमक्ष पुग्नुपर्छ ।
यसैबीच, कोभिड महामारीका कारण लामो समयसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा रक्तदान गर्ने क्रम घटेपछि बाँकेमा उत्पन्न भएको रगतको अभाव अहिले हटेको रक्तसञ्चार केन्द्रले जनाएको छ । महामारीका कारण रक्तदाता घट्दै गएपछि बाँकेमा रगतको चरम अभाव हुँदै आएको थियो ।
रगष्त अभाव हुन थालेपछि रक्तदानका लागि गरिएको आह्वानपश्चात् केही समययता आएर रक्तदान गर्नेको सङ्ख्या बढ्दै गएकाले रगतको अभाव टरेको रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले बताए । उनका अनुसार जिल्लाका विभिन्न सामाजिक तथा पेसागत संस्थालाई रक्तदानका लागि आग्रह गरिएको थियो ।
सङ्कलन भएको रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ । पश्चिम नेपालका सबैजसो जिल्लाका बिरामीले नेपालगन्ज र कोहलपुरबाट नै गम्भीर र जटिल खालका स्वास्थ्य सेवा लिने भएकाले पनि रगतको माग अत्यधिक हुने गरेको छ । रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने दुवै ठाउँका अस्पतालका बिरामीका लागि अहिले दैनिक सरदर ८० पिन्ट रगत उपलव्ध गराउँदै आएका छन् ।
।