काठमाडौं । नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ ।
सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो ।
कार्यक्रमको बुधवार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभयो । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् ।
अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर रकम लिने क्रममा रहेको सेनाले जनाएको छ । यसका लागि नेपाली सेनाले गएको कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको थियो ।
कर्जा सुविधा उपयोग गर्न योग्यता पुगेका कर्मचारीले काठमाण्डौमा सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा र उपत्यकाबाहिर पायक पर्ने सेनाका कल्याण केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
।