सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

डब्ल्यूएचओले भन्यो, ‘२०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्छ’

डा.टेड्रोस एधानोम घेव्रेसस, अध्यक्ष, डब्ल्यूएचओ ।

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको पछिल्लो विकसित स्वरुप ओमिक्रोन विश्वभरि तीव्र गतिमा फैलिरहेकाले जनस्वास्थ रक्षाकै लागि मानिसहरुलाई आ–आफ्न पूर्वनिर्धारित बिदा मनाउने योजनाहरु रद्द गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका अध्यक्ष डा.टेड्रोस एधानोम घेव्रेससले जीवननै रद्द हुनुभन्दा बिदा रद्द गर्नु उचित हुने र कठिन निर्णयहरु गरिनुपर्ने बताएका छन् । भेरियन्ट फैलिन नदिन विशवका थुप्रै मुलुकहरुले यात्रा प्रतिवनध लगायतका सुरक्षाका नीति नियमहरु कार्यान्वयन गरिसकेका छन् ।

अहिले संयुक्त राज्य अमेरिकामा नयाँ कोराना संक्रमित मध्ये ७३ प्रतिशत ओमिक्रोनबाट प्रभावित रहेका छन् । मंगलवार नै अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रको नाममा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । तर राष्ट्रपति भवन ह्वाइट हाउसले भने वाइडेनको मुलुकमा पुनः लकडाउन गर्ने योजना नरहेको जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले बढ्दै गइरहेको ओमिक्रोन समस्या समाधानका लागि कोभिड १९ को र्‍यापिड टेस्टकालागि ५० करोड वटा टेस्ट किट्सको व्यवस्था गर्न लागेको छ ।

अमेरिकाको सरुवा रोगका प्रमुख विशेषज्ञ डा.एन्थोनी फसीले आगामी क्रिशमसकाबेला हुने जमघट र भिडभाडयुक्त यात्राका कारण पूर्णरुपमा कोभिड–१९ विरुद्ध खोप लिइसकेकाहरुमा पनि तिव्र गतिमा ओमिक्रोन फैलिने बताएका छन् ।

हाल अमेरिकी नागरिकहरुलाई विश्वका ८० वटा भन्दा बढि मुलुकको भ्रमण नगर्न सल्लाह दिइएको छ । ति मुलुकका सुचिमा युरोपका झण्डै सबै राष्ट्र परेका छन् । यात्रा प्रतिवन्ध लगाउनेमा फ्रान्स र जर्मनी पनि रहेका छन् । नेडरल्यान्डसले त क्रिशमस र नयाँ वर्षको अवधिभरि कडा लकडाउन नै लगाइसकेको अवस्था छ ।

सोमवार वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले पनि ओमिक्रोनका घटनाहरु बढ्न थालेकाले नयाँ नियमहरु ल्याउने संभावनाबारे सरकारले सोच्नुपर्ने विचार व्यक्त गरेका थिए । तर उनले कुनै नयाँ नियम भने घोषणा गरेको छैन । बरु मेयर सादिक खानले जन सुरक्षालाई मध्यनजर राख्दै राजधानी लन्डनको ट्राफल्गर स्क्वायरमा नयाँ वर्षको पूर्व सन्ध्यामा कुनै पनि कार्यक्रमको आयोजना नहुने जानकारी दिएका छन् ।

गत नोभेम्वरमा ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको थियो । डा.टेड्रोसले यदि विश्वका प्रत्येक मुलुकको कूल जनसंख्याको ७७ प्रतिशतले आगामी वर्षको मध्य सम्ममा खोप लगाउने हो भने सन् २०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्ने पनि बताएका छन् ।

साथै उनले भविष्यमा महामारीहरुलाई समाधान गर्नका लागि मद्धत पुर्‍याउन चीनले कोविड १९ को उत्पतिबारे थप तथ्यांक उपलब्ध गराउनुपर्ने पनि बताएका छन् । सन् २०१९ मा पहिलो पटक चीनको हुवेइ प्रान्तको उहान शहरबाट कोरोना भाइरस शुरु भएको थियो ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०९:२९