सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दै छ। यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।

आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

साथै आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ समेत स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो। उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।

मंगलबारको बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०८:५३