सूचनाको शक्ति - The Power Of Information

        

साफ उपविजेता खेलाडीले पाए जनही ५ लाख रुपैयाँ

काठमाडाैं । साफ फुटबल च्याम्पियनशिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभएको हो ।

यसअघि १३ औँ संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

त्यही अनुसार सरकारले २३ खेलाडीलाई पाँच/पाँच लाख, तीन प्रशिक्षकलाई तीन/तीन लाख रुपैयाँ र चार अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी हुनुभएको थियो । साफ फुटबलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

पुरस्कार वितरणपछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचय बनाउन खेलाडीले गरेको मेहनतप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित भएका थिएनन् । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्न गएकाे छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपालबाहिर रहेका छन् ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १७:३८