सूचनाको शक्ति - The Power Of Information

        

रवीन्द्र मिश्रद्वारा मिलन पाण्डेमाथि कारबाही, पार्टीबाट निष्कासित

काठमाडाैं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयाेजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्नुभएकाे छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मङ्गलवार बसेको बैठकले पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै पाण्डेलाई सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेकाे अध्यक्ष मिश्रले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ ।

‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राख्नुभयाे । त्यसबारेमा तपाईँसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको थियाे । तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ । अतः तपाईँलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

साथै पाण्डेले प्रयाेग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने पनि अध्यक्ष मिश्रले उल्लेख गर्नुभएकाे छ ।

यस्ताे छ कारबाही पत्र– 

मिति: ६ पुस २०७८, मङ्गवार 

श्री मिलन पाण्डे, 

काठमाण्डौ। 

विषय: पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे। 

विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ। 

पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ। 

तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ। 

अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। 

तपाईँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ। 

रवीन्द्र मिश्र 

अध्यक्ष 

विवेकशील साझा पार्टी 

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १७:३३