सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा साढे एक लाख नागरिक कोरोना खोपको पहुँच बाहिर, २५ प्रतिशन ‘ड्रप आउट’

बाँके । बाँकेमा अझै जिल्लामा झण्डै साढे एक लाख नागरिक कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेका छन् । बाँकेका ४ लाख ६ हजार १६५ जना लक्षित संख्यामध्ये १ लाख ४१ हजार ६७४ जना नागरिक खोपको पहुँच बाहिर रहेका हुन् ।

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका १ लाख ९७ हजार ५१७ जनाले खोपको दुबै मात्रा पूरा गरेको पनि जनाइएको छ । २ लाख ६४ हजार ४९१ जना नागरिकले खोपको एक डोज पुरा गरेको खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हालसम्म ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने खोपको दुवै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् । खोप फोकल पर्सन श्रेष्ठले बाँकेमा २५ प्रतिशन नागरिकले कोरोनाको दोस्रो खोप ‘ड्रपआउट’ गरेको जानकारी दिए ।

उनका अनुसार बाँकेमा पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन् । ती व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठ वटै पालिकाहरुमा शनिवारबाहेक अन्यबारे नियमित खोप लगाउने अभियान चलिरहेको श्रेष्ठले जानकारी दिए ।

खोप फोकल पर्सन श्रेष्ठले पहुँच नपुगेका बस्तीहरुमा फोकस गरेको बताए । उनले ओमिक्रोन देखिएसँगै खोप लगाउनेको संख्या बढेको पनि बताए । पछिल्लो समयमा बाँकेमा सबै पालिकाबाट दैनिक खोप दिने काम भइरहेको छ ।

केही समयपछि बच्चा दिने खोपसँगै कोरोनाको खोप पनि दिइने तयारी भएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले सबैलाई खोपको पहुँचमा ल्याउन कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाइएको बताए ।

उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले खोप लगाउन लक्षित समूहलाई आग्रह गरे । बाँकेमा गत बर्षको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो ।

स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको कोभिड–१९ खोप सम्बन्धी जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखा, खोपसँग सम्वन्धित सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको छ । आजदेखि सुरु भएको समिक्षा गोष्ठी भोली बुधबारसम्म चल्ने छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १७:१२