सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक समृद्धि

बाँकेमा खुल्दै कागज उद्योग, साढे तीन अर्ब लगानी

कागज उद्योग स्थापना हुन लागेको स्थानको निरीक्षण गर्दै एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारी ।

बाँके । तीन अर्ब पचास करोड रुपैयाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । कागज उद्योग बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा स्थापना हुन लागेको हो ।

एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा उद्योग सञ्चालन गर्न लागेको हो । प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी कामहरु शुरु गरिएको बताए ।

त्यसका लागि २२ विगाहा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्ट समेत नियुक्त गरिसकेको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका–१८, मा रजिष्टर्ड कार्यालय स्थापना गरेर कम्पनीले उद्योग निर्माणको प्रक्रिया शुरु गरेको उनले जानकारी दिए ।

उनले कागज उद्योग हाल भारतीय कच्चा पदार्थमा निर्भर रहेकोले यो उद्योगले आफै कच्चा पदार्थ उत्पादन गर्ने बताए । फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी नेपालको आयातलाई रोक्न सफल हुने उनको दावी छ ।

देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द भएपछि देश परनिर्भर बनेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले यो उद्योग नेपालका लागि गौरबको उद्योग हुने बताए । उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ ।

५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्काशन समेत भइसकेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने पनि जानकारी दिए ।

‘यो उद्योग स्थापना पश्चात देशलाई कागज आयातमुक्त गरी निर्यात स्तरसम्म लैजान सक्षम बनाउने लक्ष्य हो,’ उनले भने । नेपालमा पेपर मिलहरु रहे पनि गुणस्तरमा प्रतिस्पर्धात्मक पेपर मिल नहुनु, पल्प तथा कागज उत्पादनमा ७५ प्रतिशत विदेशबाट आयात हुनु र मागअनुसारको क्वालिटी उत्पादन नहुने समस्या रहेको व्यवसायीले जनाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बाँकेमा ठूलो लगानीको कागज उद्योग स्थापना हुनु खुशीको कुरा भएको बताए । नौबस्ता औद्योगिक क्षेत्रको निर्माण, सुख्खा बन्दरगाह निर्माण र ठूला सिमेन्ट तथा छड उद्योगलगायत कागज उद्योगको स्थापनाले बाँके आर्थिक राजधानी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०७:४८