सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डकाे आराेप : ‘ओली अहिले पनि प्रतिगमनकै बाटाेमा छन्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज साेमवार काठमाण्डाैमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले संसदमा अवराेध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताउनुभएको हो ।

उहाँले अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद् अवराेध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविराेधी भएको पुष्टि हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतको ह्विप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिनभित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लङ्घन पनि छैन । संविधानको मर्म र भावनाको उल्लङ्घन पनि छैन ।

तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने, कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न कि भनेको आउनुभयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने ।

योभन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरङ्कुश चरित्र अरू केही हुन्छ ? उहाँको अघि यो त प्रस्ट नै छ । निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ ।

संसद्ले स्वीकार गरेको छ । पाँच दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ । त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिलकुल लाेकतन्त्रविरोधी निरङ्कुश हो भन्ने कुरा प्रस्ट नै देखिन्छ ।’

अध्यक्ष दाहालले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष दाहालले ओलीले संसद् अवराेध गरेर विधेयकहरू पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउनेसमेत बताउनुभयो ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १७:१०