ह्वात्तै बढेको चिसोले यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ । केहीदिनदेखि दिनभरीजसो घाम लागेपनि बिहीबारदेखि चिसो हावासंग चिसो बढेको थियो ।
चिसोका कारण नेपालगन्जमा सर्वसाधरणको उपस्थित पातलिएकोछ । आज आईतबार नेपालगन्जमा सर्वसाधरणको चहलपहल अन्यदिनभन्दा पातलिएकोछ । चिसो छल्न सर्वसाधरण तथा ब्यापारिहरु आ–आफ्ना घर, पसल अगाडी आगो बालेर न्यानो बनिरहेकाछन् ।
चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वासमा समस्या देखिने, बृद्घ बृृद्घामा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न हुनेगर्छ । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।
यसैबीच, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चिसो बढ्ने क्रममा रहेको र यो क्रम अझै केहीदिन चल्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अहिले बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
।