बाँके । बागेश्वरी मन्दिरका महन्तलाई रैती देखाएर व्यक्तिले खरिद गरेको जग्गा मालपोत कार्यालयले रोक्का गरेपछि झन्डै २ सय ५० जना समस्यामा परेका छन् ।
जग्गाधनीले महँगो मूल्य तिरेर किनेको जग्गा रोक्का भएको हो । बागेश्वरीका महन्त चन्द्रनाथ योगी र हरिनाथ योगी रैती भई बिक्री गरेको जग्गा २ सय ७० कित्ता पुगेको छ । ती सबै जग्गा मालपोतले रोक्का गरेको हो ।
नेपालगन्जको बीपी चोकदेखि ५ सय मिटर पश्चिमतर्फको जग्गा खरिद गरेर व्यक्तिले व्यावसायिक र निजी घर निर्माण गरी सहर बनेको छ । नेपालगन्जका अधिवक्ताले बागेश्वरी मन्दिर गुठीको जग्गा महन्तले बिक्री गरेको भन्दै उच्च अदालतमा रिट दर्ता गरेपछि रोक्का भएको हो ।
अदालतले गुठीको जग्गा संरक्षण गर्न र खोजी गर्न आदेश दिएपछि मालपोत कार्यालयले उक्त जग्गा रोक्का गरेको छ । रोक्का भएपछि धनीपुर्जा आफ्नो नाउँमा भएकाहरू जग्गा बैंकमा धितो राख्न र बिक्री गर्नबाट वञ्चित भएका छन् । रोक्काका कारण कारोबारसमेत गर्न बन्द छ ।
करमोहनाका बड्घर तथा स्थानीय सन्तकुमार बर्माले मालपोत कार्यालयले रोक्का गरेको जग्गा बागेश्वरी गुठीको नभई रैतीका रूपमा महन्तको व्यक्तिगत रहेको दाबी गर्छन् । ‘पहिले जग्गाहरू मौजाका रूपमा राखिन्थे ।
जसको नाममा जग्गा थियो, उनीहरूलाई रैती मान्ने कानुन थियो,’ उनले भने, ‘हाल विवादमा पारिएको जग्गा गुठीको होइन । महन्तहरूको पुर्ख्यौली सम्पत्ति हो ।’ उनले रैतीको जग्गालाई गुठीको हो भन्नु गलत भएको दाबी गरे ।
जग्गा रोक्का भएपछि सर्वसाधारण कारोबार गर्न, घरव्यवहार चलाउनै समस्यामा परेको उनले बताए । ‘महन्तबाट किन्दैमा बागेश्वरीको जग्गा कसरी हुन्छ ?,’ बड्घर बर्माले भने, ‘मालपोत कार्यालयले गलत रूपमा जग्गा रोक्का राखेको छ ।’
महन्तहरूबाट मूल्य तिरेर जग्गा खरिद गरेर मालपोतबाटै रजिस्ट्रेसन गरेर लिएको जग्गा त्यही मालपोत कार्यालयले गुठीको भन्दै रोक्का गर्नु गलत भएको जग्गाधनीको दाबी छ ।
स्थानीय टीकानाथ योगीले महँगो मूल्य तिरेर जग्गा खरिद गरेको बताए । ‘हामीले त महन्तसँग जग्गा किनेका हौं । गुठीको जग्गा होइन,’ उनले भने ।
मालपोतको अभिलेख अनुसार २०२८ कात्तिक १४ मा भूमि प्रशासन कार्यालय बाँकेको निर्णयअनुसार साबिक इन्द्रपुर करमोहना, हाल नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा पर्ने महन्त हरिहरनाथ योगीको नाममा ९ बिघा १९ कट्ठा ५ धुर, चन्द्रनाथ योगीका नाममा ९ बिघा १३ कट्ठा १२ धुर जग्गा दर्ता गरेको प्रमाण भेटिएको छ ।
२०२५ सालमा बागेश्वरी मन्दिरको नाममा मन्दिर क्षेत्र, साबिक नेपालगन्ज–३ को कि.नं. १६३, कि.नं. ९०, साबिक परसपुर गाविसको वडा नं. ९ खको कि.नं. ४, साबिक खजुराखुर्दको कि.नं. २४२, कि.नं. ६, कि.नं. १० र कि.नं. ७७ को जग्गा गरी करिब ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा देखिन्छ । कान्तिपुर दैनिकबाट
।