सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक आज :

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले नजाने

होला गतिरोध अन्त्य ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज आइतबार सर्वदलीय बैठक बस्दै छ ।

आज अपरान्ह ४ बजे बस्ने बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको हो ।

गत शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

यस्तै आजको सर्वदलीय बैठकमा एमाले भने नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताउनुभयो ।
यता प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।

विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो। ‘साझा धारणा निर्माणका लागि आज दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार ०८:१०