सूचनाको शक्ति - The Power Of Information

        

समाचार

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, ट्राफिक प्रहरी असुली र सेटिङ्गतिर

फाइल तस्वीर

बाँके । लुम्बिनी प्रदेशको ठुलो तथा औद्योगिक शहर नेपालगन्ज अस्तव्यस्त देखिएको छ । ट्राफिकले यहाँको ट्राफिक व्यवस्थापनमा चासो नदेखाएपछि शहर अस्तव्यस्त बनेको हो । नेपालगन्जसँगै कोहलपुरको हालत पनि उस्तै देखिएको छ । यतिबेला जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुखविहीन छ ।

यसअघिका ट्राफिक प्रमुख ऐनबहादुर मल्ल डिएसपीमा बढुवा भई अन्यत्र सरूवा भएपछि प्रमुखविहीन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सईको भरमा चलिरहेको छ । यसअघिका प्रमुख मल्ल बढुवा भएपछि एक महिनादेखि ट्राफिक प्रहरी कार्यालय बाँकेको निमित्त प्रमुखको जिम्मेवारी प्रहरी नायव निरीक्षक सिद्धीगणेश शाहले सम्हाल्दै आएका छन् ।

निमित्तको जिम्मेवारी पाएसँगै उनी असुली र सेटिङ्गमा माहिर देखिएका छन् भने बाँकेको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सकेका छैनन् । निमित्त प्रमुख शाहले नेपालगन्ज र कोहलपुरका ट्राफिक व्यवस्थापनमा भन्दा टिप्पर, ट्रक लगयातका सवारीबाट रकम असुली गर्नेतर्फ बढी ध्यान दिएको ट्राफिक प्रहरी स्रोत बताउँछ ।

नेपालगन्जको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी उदासिन छ । ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिबेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुँदै गएका छन् । नेपालगन्ज र कोहलपुर क्षेत्रको ट्राफिक व्यवस्थापन हिजोभन्दा दिनप्रतिदिन अस्तव्यस्त भइरहेको छ । पैदल यात्रीलाई हिँडडुल गर्नसमेत अप्ठेरो छ ।

विशेषगरी नेपालगन्जको सदरलाइन, त्रिभुवन चोक, सेतु विक चोकदेखि सुर्खेतरोड जाने बाटो, भेरी अस्पताल र कोहलपुरको नयाँ सडक, मुख्य सडक, चौराह, बसपार्क लगायतका क्षेत्रमा उचितरुपमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । नगरबासीले दशैं तिहारयता भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नुपरेको छ ।

बाँकेका ट्राफिकलाई यहाँको ट्राफिक व्यवस्थापनमा कुनै चासो छैन । एकातिर जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले समस्या भोगिरहेको बताइरहेको छ भने अर्कोतर्फ नेपाल प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन ।

यसैबीच, हिजोमात्रै ट्राफिक प्रहरी प्रमुखका रुपमा प्रहरी प्रधान कार्यालयले पहुँचवाला प्रहरी निरीक्षक हिमालय शाहलाई पठाउने भएको छ । ट्राफिक प्रमुख ऐनबहादुर मल्लको प्रहरी नायव उपरीक्षकमा बढुवा भएपछि खाली रहँदै आएको स्थानमा प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्गरक्षक प्रहरी निरीक्षक शाह प्रधानमन्त्री पत्नी आरजु राणाको ठाडो निर्देशनमा बाँके आउन लागेको प्रहरी प्रधान कार्यालयले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०७८, आइतवार ०७:१८