सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

महामन्त्रीमा हारेपछि मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन् । केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् । कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन् । उनी डा.शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए ।

महामन्त्री पदमा ३४२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन् । उनले ६०३ मत मात्रै ल्याउन सफल भएका छन् । महामन्त्रीमा अहिलेसम्म गगनकुमार थापा २२२७, विश्वप्रकाश शर्मा १३७६, प्रकाशशरण महत ११२७, प्रदीप पौडेल ९३० र राजाराम कार्कीले ७७ मत ल्याएका छन् ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १४:३५