काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् ।
सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए ।
नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए ।
बुधबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्ने विषयमा भने प्रश्न गरिरहने बताए ।
उनले निर्वाचनमा जे जस्तो भएपनि देउवासँग सहकार्य गरेर अघि बढ्ने भन्दै देउवाले पनि सबैको सभापति बन्ने किसीमले अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले चितवनको नारायणी किनारमा भएको अधिवेशन ओलीवेशन भएको भन्दै काँग्रेसले अधिवेशन नै गरेको तर त्यो सोँचेजस्तो भयो या भएन भन्नेबारेमा बहस गर्न सकिने बताए ।
अब तीन तहकै निर्वाचनमा काँग्रेसको जित हुनेगरी सबै नेता कार्यकर्ताहरु एक जुट हुन जरुरी रहेको बताए ।
महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।
उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उनले सुनाए । आफू पनि शेखर कोइरालाको आडमा बसेर त्यो बेला मत मागिरहेको उनले बताए ।
।