सूचनाको शक्ति - The Power Of Information

        

देउवालाई नेताहरुको बधाई र शुभकामना, कसले के भने ?

काठमाडौँ । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि विभिन्न दलका नेताहरुले बधाई र शुभकामना दिएका छन् । बिहान सम्पन्न मतगणनापछि सभापतिमा निर्वाचित भएका देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई र शुभकामना दिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ट्विट गर्दै शुभकामना दिए । उनले लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले देउवालाई बधाई दिए । ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा प्रम देउवालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ उनले ट्विट गर्दै लेखेका छन्, ‘उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्र गमनकारी शक्तिबीच एकता होस्, थप शुभेच्छा ।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहान सामाजिक सञ्जालमार्फत दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई बधाई र शुभकामना दिएका छन् । ‘चौधौं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा (पुनः) निर्वाचित हुन सफल श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक वधाई’, उनले लेखेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई शुभकामना र बधाई दिएका छन् । ‘प्रधान मन्त्री श्री शेरबहादुर देउवाज्यू नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्छु’, उनले भने ।

यस्तै एमालेका सचिव योगेश भट्टराले पनि देउवालाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा माननीय शेरबहादुर देउवालाई हार्दिक बधाई तथा शुभकामना छ ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन बिहान सम्पन्न मतगणनामा देउवा फेरि सभापति निर्वाचित भए । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । पाँचौं पटक प्रधान मन्त्री चलाइरहेका देउवाको कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल शुरु भएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १०:०८