काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ ।
केहिबेरअघि सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।
अन्तिम नतिजाअनुसार शेरबहादुर देउवाले २२५८, डा। शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् । सभापतिका लागि देउवालाई ८२ मत नपुगेको हो ।
दोस्रो चरणमा देउवा र डा। कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । निधि र सिंहले देउवाको विरुद्ध एक हुने बताइसकेका छन् । मतदान आजै हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए ।
।