सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमबाट कामका लागि भारत गएका १६५ बेपत्ता, सरकार बेखबर

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढ्दै गएको छ । सुदूरपश्चिमका चारवटा स्थानीय तहबाट कामका लागि भारत गएका १६५ श्रमिक बेपत्ता भएका हुन् । लामो समयदेखि उनीहरु परिवारको सम्पर्कमा छैनन् ।

भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएका छन् । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएका र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले जानकारी दिए ।

‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ । त्यस्ता श्रमिक हराउने र बेपत्ता हुने क्रम बढेको छ,’ जोशीले भने । श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ । भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

‘ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्,’ उनले भने, ‘भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास गरेको छैन ।’ भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ रहेको आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए । ‘श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने ?’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ०८:३०