सूचनाको शक्ति - The Power Of Information

        

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन

उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्नेछ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको काँग्रेसले जनाएको छ ।

मतदानका लागि एक जनालाई ४५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । काँग्रेसको केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतवार ०७:०१