सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४औँ महाधिवेशन

काँग्रेस सभापतिमा पाँच जना उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा पाँच जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् ।

सिंह र कोइराला पौडेल पक्षका भए पनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन् भने उनको टीमबाट सुजाता कोइराला उम्मेदवार बन्ने निश्चित भएको छ । अन्य उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ ।

यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरिराखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन् । देउवालाई कृष्ण प्रसाद सिटौला समूहले पनि समर्थन गर्ने बताइएको छ । सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए ।

उनले उम्मेदवारी दर्ताअघि आफ्नो टीमबाट चुनाव लड्ने उम्मेदवारबारे छलफल गर्दैछन् । आफ्नो टीमबाट सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले भने अब उम्मेदवार नबन्ने बताएका छन् । यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन् । काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १३:१४