सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४औँ महाधिवेशन

बाहिरियो कांग्रेसको निर्वाचनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन र बन्द सत्र शुक्रबार भएको छ । शुक्रबार नै निर्वाचन समितिले १४औं महाधिवेशनमा मत हाल्न आएका मतदाताहरुको अन्तिम नामावली प्रकाशनसमेत गरिसकेको छ ।

१४औं महाधिवेशनमा उम्मेदवार हुन चाहनेका लागि आज मनोनयन दर्ता गर्ने दिन हो । निर्वाचन समितिले आज (शनिबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय मनोनयन दर्ताका लागि छुट्टयाएको छ ।

मनोनयन दर्ता प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमै गरिने निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका छ ।

यस्तै समितिले आइतबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सो दावी विरोधउपर निर्णय गर्ने, मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरिक लिपी) पहिलो नाम प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ ।

निर्वाचन समितिले भोलि दिउँसो नै ३ देखि ४ बजेसम्म मनोनयन फिर्ताको समय छुट्टयाएको छ । साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ गते मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार ११:०२