सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं विश्वविद्यालयका १४४९ विद्यार्थी दीक्षित हुँदै

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ।

विश्वविद्यालयका रजिष्ट्रार सुवोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय संघका महासचिव डा पङ्‍कज मित्तलको प्रमुख आतिथ्यता रहनेछ।

यस वर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नताकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी सङ्‍कायका २३४, शिक्षाशास्त्र सङ्‍कायका १०४, इञ्जिनियरिङका २९, कानुन सङ्‍कायका ४०, व्यवस्थापन सङ्‍कायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए। त्यस्तै १२ जनालाई पीएचडी र ३० जनालाई एमफिलबाट दीक्षित हुने भएको छ।

दीक्षित हुनेमध्ये यस वर्ष महिलाको सङ्ख्या बढी रहेको छ। महिला ७४७ अर्थात् ५१ दशमलव ५५ प्रतिशत र पुरुषको सङ्ख्या ७०२ अर्थात् ४८ दशमलव ४५ प्रतिशत रहेको रजिष्ट्रार शर्माले बताए।

दीक्षित हुनेमा विदेशी विद्यार्थी बङ्‍गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्‍का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका गरी आठ देशका १२३ जना रहेको विश्वविद्यालयल जनाएको छ।

सो सङ्ख्यासहित काठमाडौं विश्वविद्यालयबाट २७औँ दीक्षान्त समारोहसम्म आइपुग्दा ३६ हजार ६२४ विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार ०९:३४