सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन आज

कांग्रेस महाधिवेशन : एउटै मञ्चमा देखिएलान् ओली, प्रचण्ड र माधव नेपाल ?

काठमाडौं । मुलुक मङसिरदेखि राजनीतिक दलहरूको महाधिवेशनमय भएको छ । गत १० देखि १४ गते चितवनमा संसदमा प्रतिनिधित्व गरेको सबैभन्दा ठूलो दल नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न गरिसकेको छ ।

एमालेको महाधिवेशन सकिएको केहीदिनमै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि महाधिवेशन सम्पन्न भइसकेको छ । राप्रपाले महाधिवेशनको नतिजाले राष्ट्रीय राजनीति कम तरंगित भए पनि उक्त दलभित्र ठूलै उतारचढाव आइरहेको छ ।

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि (शुक्रबार) राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा कांग्रेसले संसदमा प्रतिनिधित्व गरिरहेका सम्पूर्ण राजनीति दलका प्रमुखलाई निम्ता गरिसकेको छ ।

विदेशी राजनीतिक दलका प्रतिनिधिहरूको समेत कार्यक्रममा उपस्थित हुने भएको छ । भारतबाट भारतीय जनता पार्टी, कांग्रेस आईका प्रतिनिधि र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि आउने महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।

सबैभन्दा रोचक पक्ष आजको महाधिवेशनमा पछिल्लो समय एक–अर्काको अनुहार हेर्न नचाहने नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धीहरू केपी शर्मा ओली, पुष्पकलम दाहाल र माधवकुमार नेपाल एउटै मञ्चमा देखिने सम्भावना छ ।

चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा उक्त पार्टीले माधव नेपालबाहेक मुख्य–मुख्य राजनीति दलका सबैलाई निम्तो गरेको थियो । तर, एमालेको महाधिवेशनमा भने सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवमात्र पुगेका थिए ।

एमालेले माधव नेपालको नेकपा समाजवादी पार्टीलाई पार्टीको मान्यता नदिएर निम्तोसमेत दिएन । तर, नेकपा माओवादी केन्द्रलाई भने निम्तो पठायो । उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल नगएर पार्टीले उपाध्यक्षा लिलामणि पोख्रेललाई पठाएको थियो ।

पछिल्लो केही महिनादेखि पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओली यी तिनै अनुहारहरू एकै मञ्चमा देखिएका छैनन् । कुनै दिन एउटै मञ्च र बैठकमा बस्ने यी नेताहरूबीच अहिले बोलचाल बन्द र पानी बाराबारको स्थिति छ ।

कांग्रेसको महाधिवेशनमा यी तिनै अनुहारहरू मञ्चमा उक्लन्छन त ? यदि मञ्चमा यी तीन नेता उक्ले भने यिनिहरूको हाउभाउ कस्तो हुनेछ महाधिवेशनको सबैभन्दा रोचक पक्ष तिनै नेताहरू बन्ने लगभग पक्का छ ।

काँग्रेसको १४ औं महाधिवेशन प्रचारप्रसार समितिका मिडिया संयोजक डा.सुरेश आचार्यका अनुसार संसदमा प्रतिनिधित्व गरेका सम्पूर्ण दललाई महाधिवेशनका विशेष अतिथिका लागि निम्तो दिएको छ ।

‘एमाले, माओवादी, नेकपा समाजवादी, जसपा र अन्य सम्पूर्ण दलका मुख्य–मुख्य प्रतिनिधिलाई बोलाइएको छ,’ आचार्यले भने, ‘सबै दलका प्रमुखहरू आएमा एउटै मञ्चमा देखिन पाइने छ । महाधिवेशनको माहोल रोचक हुने विश्वास लिएका छौं ।’

आचार्यले विदेशी पाहुनाहरूलाई समेत निम्तो दिएको बताए । केही मुलुकका पाहुनाहरूले भर्चुअल माध्यमबाट सम्बोधन र शुभकामना सन्देश दिने उनले जानकारी दिए । त्यस्तै एमाले सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा ओली आज कांग्रेसको महाधिवेशन उद्घाटनमा जाने कार्यक्रम छ ।

अध्यक्ष केपी शर्मा ओलीको भोलिको स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यसले पनि निर्धारण गर्ने उनले बताए । ‘अहिलेसम्म महाधिवेशनमा विशेष अतिथि भएर जाने निश्चित जस्तै छ,’ तामाङ्ले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाको महाधिवेशनमा शुभकामना दिन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पठाएका थिए ।

त्यहाँ माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने स्वयं उपस्थित थिए । सत्तारुढ गठबन्धनका साझेदार रहेकाले नेपाल र दाहाल भने कांग्रेसको महाधिवेशन उद्घाटनमा शुभकामनाका लागि स्वयं उपस्थित हुने बुझिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०७:०७