बाँके । बाँकेको नेपालगन्जमा हजारौं नागरिकहरुले सडकमा उत्रीएर भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता जनाएका छन् । भ्रष्टाचार विरुद्ध सामुहिक सन्देश प्रवाह गर्न नेपालगन्जको सडकमा नागरिक उत्रिएका हुन् ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्ट्राचार विरुद्धका लागि सँगै हिँडौं’ भन्ने नारा साथ पश्चिम नेपालमा पहिलो पटक गरिएको ‘नेपालगन्ज वाकाथन’ उनीहरुले एक्यबद्धता जनाएका हुन् ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले आयोजना गरेको नेपालगन्ज वाकाथनमा बाँकेका सरकारी निकाय, गैरसरकारी संस्था, ब्यवसायिक प्रतिष्ठान, विभिन्न समिति तथा संगठनहरु, शैक्षिक क्षेत्र लगायत आम नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
वाकाथनका क्रममा सहभागिहरुले भ्रष्टाचार बिरुद्धका नाराहरु अंकित प्लेकार्ड, झाँकी प्रदर्शन, राष्ट्र भक्तीपूर्ण गितहरुमा साँस्कृतीक प्रस्तुतीकरण तथा गितहरु प्रस्तुत गरेका थिए ।
भ्रष्टाचार विरुद्ध गरिएको नेपालगन्ज वाकाथनको समापनमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भ्रष्टाचार समाज विकासको बाधक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीले गर्नुपर्ने काम नगर्ने र गर्न नहुने काम गर्ने कार्य भ्रष्टाचार हुने भन्दै सबैलाई नीति नियम र कानूनको परिधिभित्र रहेर काम गर्न समेत अपिल गरे । भ्रष्टाचार बिरुद्धको अभियानमा ठुलो संख्यामा भएको सहभागिताले भ्रष्टाचार बिरुद्धको सन्देश आम नागरिकमा पुगेको उनले बताए ।
नेपालगन्ज वाकाथनमा चर्चीत कलाकार प्रकाश सपुतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा ‘यो देश मेरो पनि हैन र’, ‘बोल माया बोल’ लगायत चर्चीत देश भक्तिले ओतप्रोत गितहरु स्टेज मार्फत गाँउदा कार्यक्रममा उपस्थित नागरिकहरुले साथ दिएका थिए ।
‘हामी भ्रष्टाचार बिरोधी हौं, भ्रष्टाचार सहन्नौ, सदाचार बिर्सन्नौ, भ्रष्टाचार गर्दैनौ, भ्रष्टाचार हुन दिन्नौं, भ्रष्टाचार क्यान्सर हो यसको समयमा नै अन्त्य गर्नुपर्छ’ लगायतका नाराहरु सहित सहभागिहरुले भ्रष्टाचार बिरुद्ध सन्देश प्रवाह गरेका थिए । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रदर्शन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु भएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका केन्द्रीय महासचिब शिबकुमार बर्माले गरेका थिए ।
बासको आयोजना, अन्तरालको ब्यवस्थापन तथा विभिन्न दुई दर्जन बढी सरकारी निकाय तथा संघसंस्था र ब्यक्तिहरुको सहयोग सहकार्यमा भएको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यले नेपालगन्ज वाकाथनको आयोजना गरिएको हो । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो ।
कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।
।